नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च

काठमाडाैं | साउन २५, २०८०

नवौँ राष्ट्रिय खेलकुदमा झण्डै ५४ करोड रुपैयाँ खर्च तस्बिर फाइल

काठमाडौं:     राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशको पोखरा लगायत आठ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ को आय–ब्यय सार्वजनिक गरेको छ ।


नवौं आयोजनाको क्रममा ब्यवस्थापकीय र आर्थिक दृष्टिले आलोचित बनेको राखेपले प्रतियोगिता सकिएको १० महिनापछि बुधबार खर्च विवरण सार्वजनिक गरेको हो । प्राविधिक र प्रक्रियागत कारणले खर्च सार्वजनिक गर्न केही समय ढिला भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो ।


‘‘प्रतियोगिता दशैं र तिहारको बीचमा भयो । लगत्यै मंसिरमा भएको निर्वाचनमा राखेप कर्मचारी खटिनुपर्ने अवस्था आयो । विभिन्न शीर्षकको रकम रकमान्तरको प्रक्रिया पूरा गर्न २०८० को असार मसान्तको पहिलो सातासम्म लाग्यो । त्यसपछि खर्चको एकिन विवरण सार्वजनिक गर्न सकिएको हो,’’ सदस्य सचिव घिसिङले भन्नुभयो । 


घिसिङले नवौं प्रतियोगिता आठौंभन्दा भिन्न हिसावले भएको र कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता थप ब्यवस्थित र संघीयताको मर्मअनुसार आयोजना गरिने दावी पनि गर्नुभयो ।


‘‘१०औं को मोडालिटी पूर्ण परिवर्तन हुनेछ । पूर्वाधार निर्माण, खेलाडीको खेल पोशाक, किट्स, बसोबास, खेल स्थलको ब्यवस्थापन जस्ता विषयलाई प्रदेशकै जिम्मा लगाईने छ । यसको विषयमा राखेपले थप अध्ययन गर्नेछ,’’ घिसिङले भन्नुभयो ।  


नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि नेपाल सरकारले ६० करोड १० लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । त्यससँगै राखेपले प्रायोजक, टिकट विक्री र बीमा संस्थानबाट ५१ लाख ५२ हजार सात सय रुपियाँ प्राप्त गरेको थियो ।


सरकार र प्रायोजक लगायतबाट कूल ६० करोड ६१ लाख ५२ हजार ७०० रुपियाँ प्राप्त गरेको राखेपले प्रतियोगिता सम्पन्न गर्न ५३ करोड ७९ लाख ४ हजार २३९ रुपियाँ खर्च गरेको उल्लेख गरेको छ । 


६ करोड ८२ लाख बचत 


प्रतियोगिता आयोजना खर्च कटाएर ६ करोड ८२ लाख ४८ हजार ४६० रुपियाँ बचत गरेको पनि राखेपले जनाएको छ । राखेपले नवौंमा सहभागी खेलाडीले पाउने रकम सम्बिन्धित खेलाडीको खातामा पठाएको जानकारी पनि सदस्य सचिव घिसिङले दिनुभयो । 


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन हजार ४१४ पुरुष र दुई हजार ७१३ महिला गरी कूल ६ हजार १२७ खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कांस्यसहित कूल एक हजार ३४७ पदका प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगितामा सात प्रदेश, विभागीय तीन र एनआरएनए गरी ११ टिमले भाग लिएका थिए । जसमा विभागीय टोली त्रिभुवन आर्मी टिम च्याम्पियन बनेको थियो । राखेपले पहिलो पटक टिम च्याम्पियन टोलीलाई १० लाख रुपियाँको छुट्टै च्याम्पियन ट्रफी पुरस्कारको समेत ब्यवस्था गरेको थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्